
काठमाडौं— नेकपा एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्रीसँग सांसदको सवालजवाफ कार्यक्रमको प्रश्नपत्र पहिल्यै पत्रिकामा सार्वजनिक भएको भन्दै सदनको विश्वसनीयतामा प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभामा पन्तले प्रश्न गरे, ‘यो कार्यक्रम हरेक महिना सदनमा गर्ने व्यवस्था छ । बल्लतल्ल हुन लागेको कार्यक्रमको प्रश्न कसरी मिडियामा आयो ? यो गम्भीर विषय हो । प्रश्न सोध्ने अधिकार हामी सांसदहरूको हो ।’
उनले कुनै पनि प्रश्नपत्र समयअगावै चुहिनु ठिक नभएको बताए । उनले भने, ‘चाहे त्यो विद्यालयको होस्, या विश्वविद्यालयको या सदनको प्रश्न आउट हुनु ठिक होइन ।’ उनले उक्त कुरा ठूलो बनाउन नचाहेपनि सदनको गोपनीयता काम हुनुपर्ने औँल्याए ।
जवाफमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको लागि सांसदहरूले दिएको प्रश्न आउट हुनु ठिक नभएको स्वीकारे । उनले भने, ‘प्रश्न यसरी आउट भएको ठिक होइन । अघि मेरो कार्यकक्षमा साथीहरूले व्यङ्ग्य पनि हान्नुभयो । प्रश्नसँगै कतै उत्तर पनि आउट भयो कि भन्ने चिन्ता थियो । नत्र यो कार्यक्रमको कुनै औचित्य हुँदैनथ्यो ।’













