
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी जुनसुकै तहका व्यक्ति भएपनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले प्रतिनिधि सभा सदस्य शेरबहादुर कुँवरमार्फत सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले दोषी जुनसुकै तहका पदाधिकारी तथा व्यक्ति भएपनि कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराख्ने बताएका हुन् ।
उनले प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धानमा हालसम्म कुनैपनि हस्तक्षेप नभएको र आगामी दिनमा पनि हस्तक्षेप नगरिने बताए । उनले दोषी नउम्किउन् र निर्दोष नपरुन् भन्नेमा सरकारको जोड रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डको जवाफ : ‘नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधको निष्पक्ष अनुसन्धान गरी प्रमाणका आधारमा दोषी देखिएका जुनसुकै तहका पदाधिकारी तथा व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन यो सरकारले कुनै कसर बाँकी राखेको छैन । र बाँकी राख्ने पनि छैन । नेपाल प्रहरीको निष्पक्ष र व्यवसायिक अनुसन्धान कार्यमा कुनै निकायबाट पनि हस्तक्षेप भएको छैन । हस्तक्षेप गरिने छैन । र हस्तक्षेप हुन दिइने पनि छैन । भ्रष्टाचारसँग सम्बन्धित अन्य प्रकरणको पनि कानून अनुसार अनुसन्धान र कारबाही हुने व्यहोरा म प्रष्ट गर्न चाहन्छु । दोषी कोही पनि उम्किन नपाओस् । निर्दोष कोहीपनि नपरोस् भन्ने हाम्रो जोड रहेको छ । जुनसुकै तह र तप्काका भएपनि यो अपराधमा संलग्न जो कोहीपनि कानुनको दायरामा आउने नै छन् । त्यो प्रक्रिया अगाडी बढाइपनि सक्नुभएको छ । भिभिआइपीहरु पनि परि त राखेका छन् । त्यसकारण यसमा स्वतन्त्र र निष्पक्ष रूपले छानबिन भइराखेको कुरा त्यसले प्रमाणित गर्दछ । यस्ता विषयमा सरकारले कुनै आग्रह या कुनै पूर्वाग्रह नलिइ निष्पक्ष, तटस्थ र व्यवसायिक छानबिन गरी अन्तिम निस्कर्ष निकाली अपराधिलाई कानुनको दायरामा ल्याउन जोड गरेको छ । प्रधानमन्त्रीको हैसियतले मैले उपप्रधानमन्त्री तथा गृहमन्त्रीलाई यसमा दृढतापूर्वक र निष्पक्षताका साथ दोषी नउम्कने र निर्दोष नपर्ने निति अन्तर्गत अगाडि बढ्न निर्देशित गरेको छु ।’













