
काठमाडौं— ‘आज धेरै दिन पछि देखेर होला प्रधानमन्त्रीज्यू मेरो आँखालाई भ्रम परेको होइन होला,’ संसद रोस्टममा उभिएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हेर्दै एमाले सांसद रघुजी पन्तले ठट्टा गरे ।
‘प्रधानमन्त्रीज्यू पहिलेभन्दा धेरै ह्यान्डसम ह्यान्डसम देखिनुभएको छ ।’
पन्तले ‘प्रचण्ड तारिफ’ गरे, ‘दौरा सुरुवाल लगाएर आउनुभएको छ, झन् खाइलाग्दो पनि देखिनुभएको छ ।’
प्रधानमन्त्री प्रचण्ड मन्दमन्द मुस्कुराइरहे । उसो त पन्त पनि दौरा सुरुवालमै उपस्थित थिए ।
पन्तको मूल प्रश्नको जवाफ दिनुअघि प्रचण्डले पनि रमाइलो माहोल कायमै राखे ।
‘माननीय सदस्यले मेरो अलि धेरै नै,’ प्रधानमन्त्री प्रचण्डले केही समय लिए । अनुभवी नेताले व्यङ्ग्य नबुझ्ने कुरै भएन । हल्का मुस्कानसहित थपे, ‘प्रशंसा भनौँ कि व्यङ्ग्य के भन्ने हो, त्यसका लागि धन्यवाद ।’
‘म धेरै खाइलाग्दो भएको छु जस्तो लागेको छैन,’ प्रचण्डले पन्तलाई हेर्दै भने ।
मुस्कुराउने पालो पन्तको । मुसुमुसु मुस्कुराउँदै चस्मा खल्तीमा राखे ।
उता प्रचण्डले थपे, ‘मरो तौल चाहिँ घटिराख्याछ । देख्दाखेरि तपाईंले राम्रो देख्नुभएछ ।’ उनी यत्तिकैमा रोकिएनन्, पन्तको आँखालाई पनि धन्यवाद भन्न भ्याए । पन्तलाई हेर्दै भने, ‘तपाईंको आँखालाई पनि धन्यवाद ।’ अनि प्रचण्डले नाक मसारे ।
पन्त–प्रचण्डको सवालजवाफमा अरू सांसद पनि मुस्कुराइरहे ।
हँस्सीमजाकपछि पन्तको गम्भीर कामना थियो, ‘प्रधानमन्त्रीज्यू जति खाइलाग्दो देखिनुभएको छ, नेपाली जनता पनि छिट्टै नै त्यस्तो खाइलाग्दो देखियोस् ।’
राजनीतिक मुद्दा र कहिलेकाहीँ व्यक्तिगत तवरमै घोचपेच गर्न पछि नपर्ने नेताहरूको मुहारमा सौहार्दता देखिन्थ्यो ।
पन्तले आफ्नो प्रस्तुति नै ‘पाँच महिनापछि शुभ दिन’ आएको उल्लेख गर्दै व्यङ्ग्यात्मक रूपमा सुरु गरेका थिए । ‘प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्न सोध्न पाइने हाम्रो नियमावलीको दफा ५६ को १ मा उल्लेख भएपनि पाँच महिनापछि शुभदिन आएको छ । यसका लागि सभामुख र प्रधानमन्त्री ज्यूलाई धन्यवाद ।’
प्रधानमन्त्री हराएको सूचना सदनमा दिने सांसद पन्तलाई के चाहियो र ?
आफ्नै शैलीमा व्यङ्ग्य कसे, ‘प्रधानमन्त्रीज्यूलाई हेर्दा विशेष समयमा नि बोल्नुपर्यो, आकस्मिक समयमा पनि बोल्नुपर्यो । जनता दुब्लाएर गएका छन् । मारमा परेका छन् । महँगीमा परेका छन् । आर्थिक मन्दी छ । यी सबै बारेमा प्रधानमन्त्रीसँग संसद्मा छलफल गर्न पाइयोस् भनेर पटकपटक आग्रह गरियो । केही नलागेर जीरो आवर (शून्य समय) मा खोज्नुपर्ने सूचना जारी गर्नुपर्ने अवस्था पनि आयो ।’
सांसद पन्त ख्यालठट्टापछि मुख्य प्रश्नमा लागे, ‘म अब आफ्नो प्रश्न तिर जान चाहन्छु ।’
प्रश्न गर्नुअघि फेरि अर्को प्रश्न !
‘प्रश्न गर्न भन्दा अगाडि म अर्काे एउटा प्रश्न गर्न चाहन्छु यो मेरो प्रश्न कसले आउट गरिदियो ? अरू सांसदहरूको प्रश्न कसले आउट गरिदियो ? यो संसदभित्र प्रधानमन्त्रीलाई प्रत्यक्ष प्रश्न सोध्ने विशेषाधिकार सांसदको मात्रै हो । सांसदले त्यो प्रश्न नसोध्दै ती प्रश्नहरू अखबार र सञ्चार माध्यमहरुमा आउनु उपयुक्त हुदैँन,’ एकैछिन अघि हँसिला पन्त आक्रोशित सुनिए ।
‘मैले बुझेसम्म यस्ता विषयहरू सांसदको विषेशाधिकारसँग सम्बन्धित कुरा हुन् । यो जहाँबाट गएको भएपनि यसलाई ठूलो इस्यु बनाउन चाहन्न,’ उनले चेतावनी दिए, ‘तर, आइन्दा यहाँ प्रश्न सोध्नुभन्दा अगाडि सांसदले सोधिने प्रश्नहरू आउट हुनुहुदैँन ।’
‘हाइस्कुलको प्रश्न आउट भए पनि, कलेजको प्रश्न आउट भए पनि, संसदको प्रश्न आउट भए पनि त्यो राम्रो मानिदैँन,’ उनले सचेत गराए ।
बोलीमा लोली मिलाउन सिपालु प्रचण्ड पनि के कम ? आखिर महँगी नियन्त्रण गर्नुजस्तो कठिन सवाल पनि त थिएन यो, न त कालापानीको विवाद जस्तो । पन्तको यो सवाललाई जायज ठहराए ।
‘माननीय सदस्यले बडो मार्मिक ढङ्गले राख्नुभयो,’ मर्मानुभूति गरेझैँ प्रचण्ले भने, ‘यो सदनमा माननीय सदस्यहरूले प्रधानमन्त्रीलाई प्रत्यक्ष रूपमा सोध्ने प्रश्न पहिले नै मिडियामा आउने कुरा राम्रो होइन, यसमा सतर्क हुनपर्छ र यसलाई रोकिनुपर्छ भन्ने कुरा...’
त्यसपछि यसैबारे आफ्नो कार्यकक्षको प्रसङ्ग सुनाए, ‘अघि एकछिन मेरो कार्यकक्षमा त्याँ थोरै व्यङ्ग्य जस्तो पनि भयो । एकजना माननीय सदस्यले भन्नुभयो पहिल्यै गएछ प्रश्न ।
‘मैले सोधे मेरो उत्तर पनि आ’छ कि छैन बाहिर ? मेरो उत्तर पनि बाहिर आइसक्याछ भने त सदन बस्नै परेन,’ सभामुखको आसनतर्फ हेर्दै भने ।
‘प्रश्न आइसक्याछ तर, उत्तर आएको रहेनछ । कम्तीमा त्यो कुरा चाहिँ गनिमत भन्नुपर्छ,’ उनले यसैमा चित्त बुझाए । नेपाली बृहत् शब्दकोषका अनुसार ‘गनिमत’को अर्थ थोरैमा पनि सन्तोष वा समाधान हुने कुरो; चित्तबुझाइ हुन्छ ।
त्यसपछि प्रधानमन्त्री प्रचण्ड प्रश्नको जवाफ दिन लागे, ‘जहाँसम्म भारत भ्रमणको कुरा छ...’













