News Griha :: न्यूजगृह
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई शुक्रबार सम्बोधन गर्ने भएका छन् । संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजे बस्ने संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने संघीय संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छ । राष्ट्रपतिमा चयन भएपछि संघीय संसद्मा उनको यो पहिलो सम्बोधन हुन लागेको हो ।

संघीय संसद्मा सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने तथा त्यसमाथि छलफल गरी पारित गर्ने संघीय संसद्को मुख्य कार्य जिम्मेवारीभित्र पर्छ ।

उक्त बैठक अवलोकनका लागि राजनीतिक दलका नेता, संवैधानिक निकायका प्रमुख एवम् प्रतिनिधि, सरकारका उच्च पदस्थ अधिकृत, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

सरकारले शुक्रबार पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभा र राष्ट्रिय सभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ । सो छलफल समाप्त भएपछि १५ जेठमा वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  ०६:४३
Weather Update