
सुदूरपश्चिम— सुदूरपश्चिम सरकार गठन भएको सय दिन पुगेको छ ।
प्रदेश सरकार गठन भएको सय दिन पुगेको अवसरमा शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको उपलब्धि सार्वजनिक गरेका छन् ।
सरकारले काम गरेको सय दिनमा जनतामा सुशासन र विकासको नयाँ आशा सञ्चार भएको मुख्यमन्त्री शाहको दाबी छ । यो अवधिमा राजनीतिक एवं शासकीय दृष्टि र दिशानिर्देशको दृष्टिबाट सफल रहनुलाई सरकारले मुख्य उपलब्धि मानेको छ ।
यसैगरी, प्रदेशको वस्तुस्थिति अध्ययन, विभिन्न विकास आयोजनाको अवलोकन र अनुगमन गरी समस्याको पहिचान तथा भावी कार्यदिशा निर्धारण, पूर्ववर्ती सरकारले ल्याएका नीति, कार्यक्रम र बजेटमा रहेका समस्या, वार्षिक विकास कार्यक्रम पहिचान छनोट तथा प्राथमिकीकरणमा अनुशासित र जवाफदेही प्रणाली स्थापनाको सुरुआत, स्थानीय तहसँग उच्चतम् समन्वय र सहकार्य गरी बजेट तर्जुमा प्रक्रियाको सुरुआतसमेत मुख्य उपलब्धि मानिएको छ ।
प्रदेशको सांस्कृतिक, धार्मिक तथा अध्यात्मिक पक्षको उजागर गर्न मानसखण्ड सम्मेलन सम्पन्न भएको, खप्तडमा अध्यात्मिक सम्मेलनको आयोजनाको पहल, प्रगति नभएका विकास आयोजनाको स्थलगत अनुगमन अध्ययन गरी सम्बन्धित निर्माण व्यवसायीलाई आयोजना शीघ्र कार्यान्वयन गर्न निर्देशन, सदाचार प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरण गरी सुशासन अभिवृद्धि गर्न विषेश पहलको आरम्भ, कृषि तथा ऊर्जा क्षेत्रको विकासको पहल सुरुलगायतका विषयलाई सय दिनको मुख्य उपलब्धि मानिएको छ ।
पत्रकार सम्मेलनमा भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवा र आर्थिक मामिलामन्त्री नरेशकुमार शाहीले पनि पत्रकारका जिज्ञासाको जवाफ जवाफ दिएका थिए ।
प्रदेश सभामा सत्ता गठबन्धन नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्टले सरकारका सय दिन उपलब्धिपूर्ण रहेको बताए । उनले भने, ‘सानातिना समस्याले गठबन्धनलाई कुनै असर पर्दैन, यो गठबन्धन लामो समयसम्म जानेछ ।’
गत मङ्सिरको निर्वाचनको नतिजासँगै राजनीतिक समीकरणमा भएको फेरबदलले प्रदेश सभामा नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलको नेतृत्वमा माओवादी केन्द्र, राप्रपा र नागरिक उन्मुक्ति पार्टी सम्मिलित प्रदेश सरकार गठन भएको थियो ।
संविधानबमोजिम एक महिनाभित्र विश्वासको मत पाउन नसकेपछि रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका थिए । सरकार गठन गर्दा सहयोग गरेको नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत लिने समयमा भने असहयोग गर्दा रावल पदमुक्त भएका हुन् । त्यसपछि राजनीतिक समीकरण पनि पुनः फेरिन पुग्दा प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह गत २६ माघमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
शाह माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । संविधानबमोजिम एक महिनाभित्र प्रदेशसभाबाट उनले सजिलैसँग विश्वासको मत पाएका थिए । रासस













