News Griha :: न्यूजगृह
छैटौँ नेपाल-अमेरिका ट्रेड एड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्टको बैठक सुरु

काठमाडौं— छैटौँ नेपाल—अमेरिका ट्रेड एन्ड इन्भेष्टमेन्ट फ्रेमवर्क एग्रिमेन्ट (टिफा) काउन्सिल मिटिङ सुरु भएको छ ।

बैठक शुक्रबारबाट काठमाडौंको एक होटलमा सुरु भएको हो । बैठकले अमेरिका र नेपालबीच लामो सम्बन्धलाई थप प्रगाढ बनाउँदै यही द्विपक्षीय सम्बन्धलाई लगानीमा पनि थप विस्तार गर्ने योजना बनाएको छ । 

सञ्चारकर्मीसँग कुरा गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धलाई लगानीको रूपमा रूपान्तरण र व्यापारिक सम्बन्ध साझेदारीको रूपमा रूपान्तरण गर्न बैठक बसेको बताए । उनले बैठकका लागि १८ सदस्यीय टोली नेपाल आएको जानकारी दिए । 

नेपाल र अमेरिकाबीच व्यापार र लगानीलाई कसरी प्रवद्र्धन गर्ने बैठकको लक्ष्य रहेको उनको भनाइ छ । उनका अनुसार बैठक जतिसक्दो नेपालमा अमेरिकी लगानी बढाउने कुरामा केन्द्रित हुनेछ । उनले बैठक सम्भावना र समस्याको खोजी गर्ने माध्यम बनेको बताउँदै यसले व्यापारका क्षेत्रहरू पहिचान गर्ने र नेपालबाट अमेरिका निकासीका वस्तुहरूका बारेमा पनि छलफल गर्ने बताए । 

सचिव मरासिनीले अमेरिकाबाट नेपालले दिगो विकासका हिसाबले लगानी भित्र्याउन खोजेको बताए । अमेरिकाले नेपालमा एमसीसीको माध्यमबाट हाइड्रोपावरको क्षेत्रमा लगानी बढाइरहेको उल्लेख गरे ।

बैठकमा नेपालको तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल पनि सहभागी थिए । मन्त्री रिजालले नेपालले अमेरिकाबाट दिगो विकाससहितको लगानी खोजेको र नेपालमा लगानीमैत्री वातावरण निर्माण भइरहँदा विदेशी लगानीका लागि सहज भइरहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १५:१५
Weather Update