काठमाडौं— प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद रामचन्द्र राईले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा दिएको जवाफप्रति आपत्ति जनाएका छन् ।
शुक्रबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले लडाकु शिविरमा भएको भ्रष्टाचारबारे बिहीबार प्रतिनिधि सभामा सोधिएको प्रश्नको उही जवाफ प्रधानमन्त्रीले नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
प्रधानमन्त्री दाहालले महालेखा परीक्षकको कार्यालयले ठिक छ भनेको विषयलाई सदनमा प्रश्न उठाउन उपयुक्त हुँदैन भनेर जवाफ दिएको उल्लेख गर्दै उनले यसले मुलुकको सुशासनमा टेवा नपुर्याउने बताए । राईले भने, ‘मैले हिजो प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रम टिभीमा हेर्दै थिए । त्यहाँ एकजना माननीयज्यूले क्यान्टोनमेन्टको भ्रष्टाचारको बारेमा कुरा उठाउनु भयो । त्यतिमात्रै उठाउनु भएन, उहाँले अहिलेको सम्माननीय प्रधानमन्त्रीज्यूले हाम्रा सेना ७/८ हजार त हो नि । हामीले १९, २०, २२ हजार गरेर कम्तिमा २० हजार त प्रमाणिकरण गर्न भ्यायौं नि भनेर भन्नु भएको कुरा पनि उहाँले सोध्नु भएको थियो । तर जवाफमा चाँहि हिसाब ठिकै छ । महालेखा परीक्षकको कार्यालयले ठिक भनिसकेकाले यसलाई नकोट्याऊँ भन्नु भयो ।’
सांसद राईले नेपाली जनताले सुशासन र समृद्धि चाहेकोले सरकारले सोही अनुसार काम गर्नुपर्ने स्पष्ट परे । उनले नेपाली जनतामा आशाको सञ्चार गराउने गरी आफ्ना अभिव्यक्ति दिन र सोही अनुसारको काम गर्न पनि प्रधानमन्त्री दाहाललाई सचेत गराए ।













