
काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले अपराधी प्रधानमन्त्री वा मन्त्री नै भएपनि छुट्न नहुने बताएका छन् ।
शुक्रबार माइतिघर मण्डलामा आयोजित भ्रष्टाचारविरुद्धको प्रदर्शनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारी जो भएपनि सबैलाई कारवाही हुनुपर्ने बताए । उनले दोषी आफ्नै पार्टी भित्रकै भएपनि कारवाही हुने दृढता व्यक्त गरे । उनले भने, 'प्रधानमन्त्रीले क्यान्टोनमेन्ट घोटाला अख्तियारमा पहिला पनि मुद्दा परिसकेको छ । त्यो उजुरी परेको होइन् अख्तियार मै छ । २०६४ सालमा आएको भिडियोमा उहाँले आफैले भन्नु भएको छ । राज्यकोषले कमाउनु पर्छ हामीले पैसा खानुपर्छ भनेर भन्नु भएको थियो त मलाई प्रधानमन्त्रीलाई कुनै पार्टीका नेतालाई जेल हाल्नुपर्ने कुनै कारण होइन् । जो अपराधी छ त्यो जेल जानुपर्छ । जो निर्दोष छ उसले उन्मुक्ति पाउनुपर्छ । हाम्रो पार्टीको मान्छे रहेछ भने पनि कारवाहीमा पर्छ । ’
प्रवक्ता शाहीले निर्वाचनको बेला जनता सजग भएन भने सधैँभरि दुःख भोग्नुपर्ने अवस्था आउने बताए । उनले नेताहरू चुनाव जितेर आएपछि अपराधीहरूको संरक्षणमा लाग्ने लामो समयदेखि चलिआएको चलनले मुलुकमा कहिले पनि सुशासन कायम नहुने बताए ।













