News Griha :: न्यूजगृह
सरकारको नीति तथा कार्यक्रमले व्यावसायीहरू उत्साहित

काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रलाई विशेष महत्त्व दिएर प्रवर्द्धनका विभिन्न कार्यक्रम घोषणा गरेको छ । कोरोना महामारीपछि पुरानै लयमा फर्किएको पर्यटनलाई थप चलायमान बनाएर बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने लक्ष्यसहित सरकारले सन् २०२५ लाई विशेष पर्यटन वर्ष मनाउने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा संवत् २०८० को दशकलाई नेपाल भ्रमण दशकका रूपमा मनाएर र सन् २०२५ लाई विशेष पर्यटन वर्षका रूपमा मनाइने भनिएको छ ।

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबाट पर्यटन व्यावसायी पनि निकै उत्साहित देखिएका छन् । विशेष गरी भ्रमण दशक मनाउने तथा विशेष पर्यटन वर्षजस्ता कार्यक्रमले नेपालको पर्यटन अन्तर्राष्ट्रिय पर्यटकको प्रतिक्षामा रहेको र बढी सङ्ख्यामा पर्यटक आकर्षण गर्न घोषित कार्यक्रमले टेवा पुग्ने व्यावसायीको बुझाइ छ ।

होटल संघ नेपाल (हान) का अध्यक्ष विनायक शाहले समग्रमा सरकारको नीति तथा कार्यक्रममा पर्यटनलाई विशेष महत्त्वका साथ रणनीतिक कार्यक्रम समावेश गरिएको र यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरे ।

‘नीति तथा कार्यक्रममा संवत् ८० को दशकलाई पर्यटन दशक मनाउने कुरा आएको छ, जुनकुरा हामीले बारम्बार उठाउँदै आएको विषय थियो । यसले ठूलो प्रवर्द्धानात्मक गतिविधि बढाउँछ’,उनले भने । अध्यक्ष शाहले भ्रमण दशकले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि तयार छ भन्ने सन्देश जाने र यसका लागि तीनै तहको सरकार र निजी क्षेत्रको साझेदारिता बढाएर कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

पर्यटन क्षेत्रको नीतिगत सुधार, नयाँ गन्तव्यको पहिचान र प्रवर्द्धनका साथै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउनेजस्ता कार्यक्रमले पर्यटन क्षेत्रलाई आशातित बनाएको अध्यक्ष शाहको भनाइ छ । उनले भने,‘नीतिगत सुधार गरेर सम्बोधन गर्ने कुरा आएको छ, पर्यटन उद्योगले अन्य उद्योगसरह मान्यता पाएको छैन, त्यसको सुनुवाई भएको छ ।’

यसअघि सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर वार्षिक २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित भ्रमण वर्षको सुभारम्भ गरे पनि महामारीका कारण उक्त कार्यक्रम स्थगित भएको थियो । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष निलहरि बास्तोलाले समग्रमा नीति तथा कार्यक्रम पर्यटन व्यावसायीमैत्री रहेको बताए ।

उनले समेटिएका विषयको व्यावहारिक कार्यान्वयनका लागि सबैको सक्रियता चाहिने खाँचो औँल्याए । नेपाल एशोसिएशन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले समग्रमा सरकारले ल्याएको नीति तथा कार्यक्रम पर्यटनमैत्री रहेको र यसले पर्यटन क्षेत्रमा सकारात्मक उत्साह पैदा गरेको उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  २०:५६
Weather Update