
काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको हात नभएको बताएका छन् ।
कान्तिपुर मिडिया ग्रुपले शनिबार आयोजना गरेको ‘हाफ म्याराथन’ कार्यक्रमको अन्तरक्रियामा उनले नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान सरकार र प्रहरीकै सक्रियतामा अघि बढेको बताए ।
उनले भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा अन्तराष्ट्रिय शक्तिको कुनै भूमिका छैन । यो नेपाल सरकार र नेपाल प्रहरीकै सक्रियता, क्षमता र पहलकदमी कारण अघि बढेको हो ।’
अन्तरक्रिया प्रधानमन्त्री दाहालले भुटानी शरणार्थी मामला अन्तराष्ट्रिय विषय भएको हुँदा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानमा उनीहरूको चासो हुन स्वभाविक रहेको बताए । अधिकांश भुटानी शरणार्थी अमेरिकाले लगेको हुँदा यस प्रकरणमा अमेरिकाले चासो राख्नु अन्यथा नभएको उनको भनाई छ ।
उनले भने, ‘भुटानी शरणार्थी ममिला अन्तराष्ट्रिय चासोको विषय हो । यही सन्दर्भमा नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान भइरहेको छ । यसमा अन्तराष्ट्रिय सङ्घसंस्थाको चासो हुनु स्वभाविक नै हो । यसमा पनि सबैभन्दा धेरै भुटानी शरणार्थी अमेरिकाले लगेको छ । अनुसन्धान उसले चासो राख्ने विषय अन्यथा होइन ।’
प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा १६ जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्ने पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्व गृहसचिव टेकनारायण पाण्डे, पूर्व सांसद आङटावा शेर्पा, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई रहेका छन् ।
त्यस्तै, सन्दीप भण्डारी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, रामशरण केसी, गोविन्द चौधरीलाई पनि प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा पक्राउ गरेको छ । पक्राउ पुर्जी जारी भएका प्रतीक थापा र नीरज राई भने अहिले फरार छन् ।
उनीहरु विरुद्ध प्रहरीले अहिले सङ्गठित अपराध र ठगी मुद्दा अन्तर्गत अनुसन्धान गरिरहेको छ । उनीहरु विरुद्ध राज्य विरुद्धको अपराध कसूर पनि लगाउने तयारी प्रहरीको छ । प्रहरीले धन्दामा संलग्न रहेको अभियोगमा गत १२ चैतमा दुलाल र भण्डारीलाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा जोडिएका हाई प्रोफाइल धमाधम पक्राउ परेका हुन् ।













