News Griha :: न्यूजगृह
संविधानको पुनर्मूल्यांकन गर्ने बेला भएको छैन : पूर्वराष्ट्रपति यादव
फाइल तस्बिर ।

काठमाडौं— नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानको पुनर्मूल्यांकन गर्ने बेला नभएको बताएका छन् । 

शुक्रबार काठमाडौंमा वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीद्वारा लिखित पुस्तक नेपालको संविधानको व्याख्या भाग १ र २ को विमोचन कार्यक्रममा उनले अहिले नै संविधानको पुनःमूल्यांकनको बेला नभएको भन्दै अहिले पूर्ण रूपमा संविधान लागु गरेर जाने समय रहेको बताए ।

वर्तमान संविधानको कार्यान्वयन सही ढंगबाट गर्न बाँकी नै रहेको उनको भनाइ छ । प्रथम राष्ट्रपति यादवले वर्तमान संविधानलाई संरक्षण गरेर लैजान नसके देशलाई सम्हाल्न गाह्रो हुने दाबी गरे । 

‘संविधानलाई पुनःमूल्यांकन गर्ने बेला भएको छैन । यसलाई लागु गर्नेतिर हामी जाऔँ । एकाध चुनावहरू हुन्, राम्रोसँग यो लागु होस् त्यो हामी चाहन्छौँ । यो संविधानलाई जति हामीले संरक्षण गरेर लैजान सक्दैनौँ, भोलि हामीले यो देशलाई सम्हाल्न सक्दैनौँ,’ उनले भने, ‘हामीले भूराजनीतिक, अन्तर्राष्ट्रिय परिप्रेक्ष्य यी सबै कुराहरु सोचेर यो देशको एकता, अखण्डतालाई कायम गर्दै लोकतान्त्रिक व्यवस्थालाई अघि बढाउँदै, कानुनको शासन जुन छ, यसलाई अघि बढाउँदै लगे हाम्रो देश सफल हुन्छ ।’

कार्यक्रममा लेखक वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले जनप्रतिनिधिहरूले संविधान अनुकूल काम नगर्दा पुस्तकबाट जनतामा सुसूचित गर्ने लक्ष्यका साथ पुस्तक लेखिरहेको बताए । उनले नेपालमा शासकले विधिलाई शासन गरिरहेको बताए । 

‘जनताले जुन मत दिन्छन्, प्रतिनिधि पठाउँछन् त्यो प्रतिनिधिले आफ्नो संविधान अनुकूल काम गर्दैनन्, रुल अफ ल हुनुपर्नेमा रुल बाइ ल हुन्छ, शासकले विधिलाई शासन गरिरहेको छ, विधिले शासकलाई शासन गर्नुपर्ने हो,’ उनले भने, ‘तर, यसरी विधिलाई शासकले शासन गर्दा किताबबाट भएर पनि जनसमक्ष लेखेर जनतामा ल्याउनुपर्छ भनेर लेख्ने गरेको छु ।’

वरिष्ठ अधिवक्ता डा. ज्ञवालीले विधिलाई शासकले शासन गर्नेकुरा सह्य हुन नसक्ने बताए । 

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ११:४३
Weather Update