
काठमाडौं— नेकपा एमाले उपमहासचिव तथा एमाले प्रचार विभाग प्रमुख विष्णु रिमालले धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङलाई बौलाहा नगर प्रमुखको रूपमा चित्रण गरेका छन् ।
शनिबार अखिल नेपाल महिला संघ (अनेमसंघ)को दास्रो पूर्ण बैठकमा उनले धरानका प्रमुख हर्क साम्पाङलाई ‘बौलाहा मेयर’ को रूपमा चित्रण गरे ।
‘काठमाडौंको मेयरले लेख्छ, उसले एकताल खासखुस नचाँहिदो कुरा लेख्दा साथै असी नब्बे हजार लाइक गरेको देखिन्छ,’ उनले भने, ‘अनि धरानतिरको एउटा बौलाहा टाइपको मेयर छ, काम त राम्रै गरेको होला धरान बाहिर पपुलर छ, धरानभित्र कति छ थाहा छैन । उसकैमा एक घण्टामा चालिस—पचास हजार लाइक गरेको देख्छु । एउटा स्वतन्त्र पार्टीको सभापतिले राखेको देख्छु, उसको पनि एक घण्टामा तीस चालीस हजार लाइक देख्छु ।’
अनेमसंघका सदस्यलाई सामाजिक सञ्जाल मार्फत सक्रिय भएर पार्टी गतिविधिको प्रचार गर्न निर्देशन दिएका उनले पार्टीका गतिविधि पनि सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गर्न जोड दिए । ‘के बुझ्नुपर्यो भने हामीले कम्रेड केपी ओलीको फेसबुक पेजमा हरेक दिन पचास हजारभन्दा बढी लाइक आयो भने, नियमित भयो भने बुझ्नुहोस् पार्टीले बहुमत ल्यायो ।’
रिमालले बालेन साह, हर्क साम्पाङ तथा रवि लामिछानेले सामाजिक सञ्जालमा सक्रिय भएर राम्रो प्रचार गरेको भन्दै उनीहरूको जस्तै आफ्नो पार्टी अध्यक्षको लेखलाई शेयर, लाइकमार्फत प्रचार गर्न सके पार्टीले बहुमत ल्याउने तर्क गरे ।













