
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतामा आएको निराशा समाप्त भयो भन्दै पेस गरिएको प्रतिवेदनमाथि प्रश्न उठाएका छन् ।
सरकारले शुक्रबार संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल गर्न बसेको संसदीय दलको बैठकमा उनले मिटब्याज पीडितदेखि अन्य पीडितहरू अनशनमा बसिरहेका छन् । त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
उनले भने, ‘यो सरकार बनेपछि भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता कायम भएको छ रे, कुन सरकार बनेपछि पुस १० भनेको हो कि अस्तितिरको हो, मन्त्रीको मात्रै हो कि प्रधानमन्त्रीको हेरफेर हो कि ? यो सरकार भन्या कुन सरकार ? भ्रष्टाचारीविरुद्ध उधुम गरे रे ! जनतामा आएको निराशा समाप्त भयो रे ! जनता उत्साहित भए रे ! सरकारको समर्थन ह्वात्तै बढेका छन् रे यो प्रतिवेदनमा छ ! यथार्थ त्यही हो त ? मिटब्याज पीडितदेखि अरू मान्छेहरू कहिलेदेखि अनशनमा छन्, त्यतातिर ध्यान दिनुपर्छ कि पर्दैन ?’
अध्यक्ष ओलीले गृह जिल्ला झापा जाँदा भएको आक्रमणमा सरकार मूकदर्शक बनेको आरोप पनि पुनः दोहोर्याए ।
उनले भने, ‘म जाँदा ढुंगा प्रहार हुँदा पनि सत्ता मूकदर्शक हुन्छ । नजिकै आएर मेरो तथानाम भन्छन् यो कानुनी राज हो कि जंगली राजमा पनि यस्तो हुँदैन । जंगली राज एउटा प्राकृतिक नियमअनुसार हुन्छ । यहाँ जथाभाबी भइरहेको छ ।’













