
काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने भएको छ ।
एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसद्बाट पारित हुन नदिने बताएका हुन् ।
शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न, समर्थन गर्न नसकिने अडान राखे ।
सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद भएको भन्दै ओलीले भने, ‘यस्तो फाल्तु कार्यक्रम, नीतिका नाउमा दस्ताबेज पेस हुनु दुःखको कुरा हो । यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन । यसको विरोध गर्नुपर्छ । हाम्रो मुख्य पोजिशन त्यही हो ।
अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहीन रहेको बताए । सरकारको सो नीति तथा कार्यक्रम वार्षिक नीति तथा कार्यक्रम जस्तो नभएको र यसमा देश बनाउने कुनैपनि खालको प्रतिबद्धता नआएको उनको दाबी छ ।
नीति तथा कार्यक्रममा दुई वर्षमा गर्ने काम पनि उल्लेख गरिएकोमा कटाक्ष गर्दै अध्यक्ष ओलीले गठबन्धनले आफ्नो कार्यकाल २ वर्ष तोकेकाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २ वर्षकै कार्यक्रम राखेको हुनसक्ने बताए ।
अध्यक्ष ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम २० वर्षे, पञ्चवर्षीय वा के हो ? भन्ने यकिन नभएको बताए ।
ओलीले मुलुकको अर्थतन्त्रको समस्यासमेत सरकारको नीति तथा कार्यक्रममा उल्लेख नभएको जिकिर गर्दै आपत्ति जनाए । उनले महालेखा परीक्षक कार्यालयको प्रतिवेदन राजनीतिक पूर्वाग्रहले प्रेरित रहेको आरोपसमेत लगाए ।













