
काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले पेश गरेको नीति तथा कार्यक्रमले यसअघि यो देशमा कुनै सरकार नै थिएन झै छनक दिएको टिप्पणी गरेका छन् ।
आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा सहभागी हुँदै एमाले अध्यक्ष ओलीले यस अघि यो देशमा कुनै नीति नै बनेको थिएन कि भन्ने भान दिएको आरोप लगाए । सरकारले विगतका सरकारका राम्रा कामलाईसमेत नीति तथा कार्यक्रममा समावेश गर्न नसेकेको भन्दै ओलीले आपत्ति जनाए ।
उनले भने ‘ प्रस्तावित नीति तथा कार्यक्रम मानौँ देशमा पहिलो पटक तर्जुमा गरिएको जस्तो झलक दिने गरि प्रस्तुत भएको छ । मानौँ यो भन्दा पहिले कुनै सरकार थिएन कि ? कसैले काम गरेका थिए कि, कुनै नीति बनेका थिएन कि ? त्यो छोडेर मानी लिउ अहिले यो सरकार नै पहिलो स्वयम्भू हो । यो प्रथम स्वयम्भू अवतरित भएर प्रथम सरकार बनेको छ । पहिलो हामीले नीति तथा कार्यक्रम गरेका छौं प्रथम सरकार बनेको जस्तै गरि यो प्रस्तुत भएको छ । शून्यबाट सुरु गरिएको भान दिन खोजिएको छ ।’
ओलीले मुलुकको अर्थतन्त्र संकटापन्न अवस्थामा रहेको र सामाजिक तथा सांस्कृतिक क्षेत्रमा अस्वाभाविक गतिविधिहरू बढ्दा पनि सरकारले सो अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको जिकिर गरे । उनले सरकार तलब, पेन्सन, सामाजिक सुरक्षा खर्च लगायतका अनिवार्य खर्च व्यवस्थापन गर्न पनि नसक्ने स्थिति पुगेको दोहोर्याए । ओलीले सरकारप्रति जनताको अविश्वास अभूतपूर्व रुपमा बढेको बताए ।
ओलीले भने, ‘सरकारप्रति जनताको अविश्वास वास्तवमा भन्ने हो भने अभूतपूर्व ढंगले यो विश्वास ह्रास भएको छ । अविश्वास बढेको छ अभूतपूर्व ढंगले । जनतामा निराशा छ । सामाजिक तथा सांस्कृतिक क्षेत्र अस्वभाविक गतिविधिहरू बढ्दा छन । प्रमुख आर्थिक परिसूचकहरूले अर्थतन्त्र संकटापन्न भइसकेको देखाएका छन । सरकार राजस्व उठाउन असफल भइसकेको छ । राजस्वले चालू खर्च तलब, पेन्सन, सामाजिक सुरक्षा भत्ता लगायत अनिवार्य खर्च व्यवस्थापनको दायित्व पनि गर्न नसक्ने स्थिति सरकार पुगेको छ ।’













