News Griha :: न्यूजगृह
व्यक्ति अनुकुल विचार फेर्ने मानिसले राष्ट्रको नेतृत्व गर्न सक्दैनः केपी ओली

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो विचार व्यक्ति अनुकुल प्रस्तुत गर्ने मान्छेले राष्ट्रको नेतृत्व गर्न नसक्ने भन्दै प्रधानमन्त्रीलाई व्यङ्ग्य कसेका छन् । 

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले व्यक्ति अनुसार कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न नसक्ने भन्दै यो प्रवृत्तिले लोकतन्त्रलाई सुदृढ र संविधानको रक्षामा योगदान गर्न नसक्ने बताए । 

उनले भने, आफ्नो विचार प्रस्तुत गर्न नसक्ने जो मान्छेको अगाडि छ त्यही अनुकुल कुरा गर्ने मान्छेले राष्ट्र लिड गर्न सक्दैन । यस प्रवृत्तिले नीति तथा कार्यक्रमको प्रारम्भमा भनिए जस्तो लोकतन्त्रलाई सुदृढ गरेको छैन् । संविधानको रक्षामा योगदान गरेको छैन् । अन्तर्राष्ट्रिय प्रतिष्ठा बढाउने छैन् र नेकपा एमालेको सरकारले प्रारम्भ गरेको समृद्धिको आधार भत्काएको छ, मुलुकलाई अस्थिरतामा लगेको छ । ’

उनले सरकारको तर्फबाट आएको भाषण, सरकारले सिंहदरबारमा गर्ने निर्णय, मन्त्रीहरूले दिने अभिव्यक्ति सरकारको तर्फबाट सदनमा अर्थमन्त्रीले पेश गरेको दस्तावेज र राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको दस्तावेज फरक फरक भएपछि सदनप्रति आशंका पैदा भएको बताए ।

निर्वाचनका क्रममा जनता समक्ष प्रस्तुत भएका घोषणा पत्र परिवर्तन गर्ने दुई महिना पनि नपुग्दै कोर्ष परिवर्तन गर्ने पटक पटक पोजिसन र मुख फेर्नलाई गतिशील ठान्ने प्रधानमन्त्रीको नीतिले देशलाई चरम अस्थिरताको भासमा पुर्‍याएको पनि अध्यक्ष ओलीको टिप्पणी थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:४६
Weather Update