
काठमाडौं— राष्ट्रिय सभाको बैठकमा सांसदहरुले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममा मिश्रित प्रतिक्रिया दिएका छन् ।
आइतबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसदहरुले विगतका वर्षहरूमा झैँ यस वर्ष पनि सत्ता पक्षका दलहरूले नीति तथा कार्यक्रमको समर्थन गरेका छन् भने प्रतिपक्ष दलले असहमति प्रकट गरेको हो ।
बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य तुलसाकुमारी दाहालले नीति तथा कार्यक्रमले सिद्धान्त र प्राथमिकतालाई पक्रन नसकेको बताइन् । ‘यो नीति तथा कार्यक्रमले सिद्धान्त र प्राथमिकतालाई पक्रन सकेको छैन,’ उनले भनिन् ।
राष्ट्रिय सभा सदस्य गोपीबहादुर सार्की अछामीले निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य रहेको बताए । उनले भने, ‘निजगढ विमानस्थल बनाउने कुरा स्वागतयोग्य छ, त्यहाँ विराटनगरको विमानस्थललाई पनि जोड्न पाएको भए राम्रो हुन्थ्यो। ’
बैठकमा राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा पुरानै कुरालाई नयाँ नारा दिएर ल्याइएको बताए । ‘नीति तथा कार्यक्रममा पुरानो कुरालाई नै राखेर नयाँ नाराको फ्लेभरमा आएको पाएँ,’ उनले भने ।
बैठकमा राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नीति तथा कार्यक्रम जनमुखी रहेको बताए । उनले भने, ‘यो नीति र कार्यक्रम सही छ, विषयलाई छुने गरेर आएको छ । समतामूलक र समाजवादउन्मुख भन्ने संविधानले जुन अर्थव्यवस्थाको दिशा निर्देश गरेको छ, त्यही आधारमा कार्यक्रम ल्याइएको छ ।’
उनले देशमै उत्पादित वस्तुको समर्थन मूल्य तोक्ने लगायतका केही विषयहरू नयाँ र स्वागतयोग्य रहेको उल्लेख गरे ।













