
काठमाडौं— साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अङ्कले बढेको छ । आइतबार नेप्से परिसूचक ५.८८ अङ्क बढेर १८८३.२० बिन्दुमा पुगेको हो ।
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.१४ अङ्कले, फ्लोट इन्डेक्स ०.२८अंक र सेन्सेटिभफ्लोट इन्डेक्स ०.०२ अङ्कले बढेको छ । आइतबार कारोबारमा आएका २७३ कम्पनीको ४८ लाख २८ हजार कित्ता शेयर १ अर्ब ६० करोड ४ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । कारोबार रकम पनि बढेको छ ।
अघिल्लो कारोबारमा करिब डेढ अर्बको शेयर कारोबार भएको थियो । नेप्सेका १३ उपसमूहमध्ये आइतबार ९ उपसमूहको परिसूचक बढेको छ । त्यस्तै ४ उपसमूहको परिसूचक भने घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक २.८० प्रतिशत, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले बढेको छ । जसमा वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन उपसमूह र विकास बैंकको परिसूचक घटेको छ ।
नेप्से परिसूचक बढेसँगै आइतबार दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा राष्ट्रिय बीमा कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । तर यता कारोबारमा आएको आदर्श लघुवित्तको शेयर मूल्य ६.५६ प्रतिशत घटेको छ ।
आइतबार कारोबारमा शिवम् सिमेन्ट् कम्पनीको ६ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।













