
दाङ— दाङको तुलसीपुर बजारका पसलमा मूल्यसूची राख्ने गरेको पाइएको छैन ।
पसलमा अनिवार्य मूल्यसूची राख्नुपर्ने प्रावधान भए पनि यसो गरेको नपाइएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा सेनले जानकारी दिइन् ।
उनले भनिन्,‘हामीले तुलसीपुरका धेरै पसल अनुगमन गर्यौं । अधिकांश पसलमा मूल्यसूची नै राखेको पाइएन ।’
मूल्यसूची नराखेका पसललाई मूल्यसूची राख्न लगाउने गरेको उनले बताइन् । उपभोक्ताले मूल्यसूचीका बारेमा जानकारी पाउनुपर्ने जनाउँदै यसलाई अनिवार्य बनाउन लागिएको उनको भनाइ छ ।
त्यस्तै अनुगमनका क्रममा म्याद गुज्रेका सामग्री पनि भेटिने गरेको उनले बताइन् । म्याद गुज्रेका सामग्रीले मानवको स्वास्थ्यमा धेरै असर गर्ने जनाउँदै यस कुरामा पसल सञ्चालकले ध्यान दिनुपर्ने उनले बताइन् ।
अनुगमनका क्रममा केही पसल दर्ता नभई सञ्चालन गरिएको पाइएका र त्यस्ता पसललाई दर्ताका लागि सम्बन्धित निकायमा पठाउने गरिएको उनले जानकारी दिइन् ।
पछिल्लो समय तुलसीपुरमा बजार अनुगमनलाई तीव्र पारिएको छ ।













