
काठमाडौं— नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनताका चाहनालाई समयमा नै सम्बोधन नगरे विद्रोह हुने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौंमा आयोजित १४औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्रोहको चेतावनी दिएका हुन् । उनले जनयुद्ध पनि जनताका माग र गुनासा नसुन्दाको विरोधमा भएको भन्दै अहिले पनि सोही स्थिति आइरहेको बताए ।
उनले भने, ‘नेपालमा अहिले पनि क्रान्ति जारी छ । जनयुद्ध पनि जनताले न्याय खोज्दा नपाएपछिको बिद्रोह थियो । जनताका चाहनालाई समयमा नै सम्बोधन, संगठित गरिएन भने बिद्रोह हुन्छ । हरेक योद्धाहरूले क्रान्तिमा भाग लिइरहेको जस्तो अनुभूति गर्दछन् । आज त्यस्तै अनुभूति भइरहेको छ ।’
उनले जनताका माग पूरा गर्न माओवादी बनेर मात्रै सम्भव रहेको बताउँदै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई माओवादी बन्न आग्रह गरे ।













