
काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताएका हुन् ।
त्यसअघि नेकपा एमाले सांसद योगेश भट्टराईले नीति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाएका थिए ।
भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले भने, ‘माननीयजीलाई एकपटक डिक्सनरी पल्टाएर हेर्न म अनुरोध गर्न चाहन्छु । यो माछायुद्ध थियो ? भालुयुद्ध थियो ? जंगलका अर्नाहरू लडेका थिए ? कि रुख, ढुंगाहरू लडेका थिए ? माननीयजी डिक्सनरी पल्टाएर हेर्नुहोला । मानिसले लडेको युद्धलाई कि जनआन्दोलन भनिन्छ । कि जनयुद्ध भनिन्छ ।’
जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधान सभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफू हजारपटक आँखा जुधाएर बहस गर्न तयार रहेको उनको भनाइ छ । उनले इतिहासलाई सम्मान गर्न पनि आग्रह गरे । उनले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनी नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गरे ।
सांसद पौडेलले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रूपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताए । नीति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको र यो पारित हुने उनको भनाइ छ ।













