News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी छ : लिङ्देन 
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न जरुरी रहेको बताएका छन् । 

अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न नसक्ने भएकाले यसलाई पुनर्लेखन गर्न सरकारले अप्ठ्यारो मान्न नहुने उनको तर्क छ । ‘नमिलेका विषयहरू फेरि लेखेर ल्याउनुपर्छ भन्दाखेरि यसलाई अप्ठ्यारो मान्नु हुँदैन । यसलाई पुनर्लेखन गर्न जरुरी छ,’ उनले भने, ‘अहिलेको आर्थिक संकटलाई, अहिलेको समस्यालाई यो नीति तथा कार्यक्रमले सम्बोधन गर्न सक्दैन ।’

सोमबार प्रतिनिधि सभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले समस्याको पहिचान गर्न नसकेको र प्राथमिकता पनि निर्धारण गर्न नसकेको दाबी गरे । 

उनले सत्तापक्षको बहुमत भएकाले सो नीति तथा कार्यक्रम पास गर्न सकिने तर त्यसले सिंगो देश नै बिग्रने जिकिर गरे । 

देश नै विग्रने भएकाले सो नीति तथा कार्यक्रम थप छलफल गरेर आउनुपर्ने अध्यक्ष लिङ्देनले बताए । 

अध्यक्ष लिङ्देनले जुनयुद्ध नीति तथा कार्यक्रममा लेखियो भनेर आत्मरतिमा नरम्न पनि सरकारलाई सचेत गराए । ‘तपाईं जनयुद्ध लेख्नुस, के लेख्नुस् । आत्मरतिमा रमाउनुस् । हामीले घुसायौँ । शेरबहादुरजीलाई पनि बोकायौँ भनेर भन्नुस् । तर, त्यसले केही फरक पर्दैन । फरक मान्छेको जीवनमा पर्नु पर्छ, देशको जीवनमा फरक पर्नु पर्छ,’ उनले सोधे, ‘ल भन्नुस त, कुन त्यस्तो नयाँ चिज आयो ? पहिलाकै निरन्तरता दिनको लागि त पहिले राम्रो भएको हुनु प¥यो । अहिले हरेक सालजस्तै तपाईंले पनि केही पाना थपिदिनु भयो । अघिल्लो चोटी ६५ पानाको रहेछ । अहिले ६६ पेजको रहेछ । फरक त यति मात्रै हो ।’

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १४:१२
Weather Update