
काठमाडौं— सत्तारूढ नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सरकारले ल्याएको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका छन् ।
एमाले अध्यक्ष केपी ओलीले आइतबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरेका थिए । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार संसद्मा यही माग राखेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा सत्तारूढ सांसद परियारले सरकारको नीति तथा कार्यक्रम पुनर्लेखन भएको इतिहास नभएको बताएका हुन् ।
‘यो नीति तथा कार्यक्रमको बारे पूर्ववक्ता पूर्वप्रधानमन्त्रीहरू र माननीय सदस्यहरूले धेरै विचारहरू प्रस्तुत पनि गरिसक्नुभएको छ । मैले सुनेँ–यो नीति तथा कार्यक्रम काम लाग्दैन । पुनर्लेखन गर्नुपर्यो भन्ने पनि सुनेँ,’ उनले भने, ‘हामीले २०७४ साल बनेका सरकारको नीति तथा कार्यक्रम पनि पढेका छौँ । हामीले सुनेका छौँ । पूर्वअर्थमन्त्रीजीहरूले पेस गरेको बजेटहरू पनि हामीले देखेका छौँ । तर, आजसम्म हामीले, अहिलेसम्म हामीले इतिहासमा पुनर्लेखन गरेको कुनैपनि इतिहास छैन ।’
उनले सरकारले नेपाली जनताको सुख र समृद्धिका लागि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले वर्तमान सरकारले पनि त्यसैलाई प्राथमिकता दिएर नीति तथा कार्यक्रम ल्याएको दाबी गरे ।
सहमहामन्त्री परियारले बजेट परम्परावादी भयो भनेर भन्नुको पनि कुनै तुक नरहेको बताए ।













