
काठमाडौं— विधायन व्यवस्थापन समितिले ‘कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८’ फिर्ता गर्ने सम्बन्धमा राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ ।
समितिको सोमबार बसेको बैठकले समिति सभापति जयन्ती देवी राईले सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक आवश्यक भएकाले फिर्ता गर्ने सम्बन्धमा प्रतिवेदन पेश गर्ने निर्णय भएको जानकारी दिइन् ।
उनले विधेयकको सैद्धान्तिक पक्ष र कानुन बनेपछि पार्ने प्रभावका सम्बन्धमा छलफल गरेको भए पनि दफाबार छलफल अगाडि बढाउन नसकिएको बताइन् ।
‘सबैखाले महामारी र सङ्क्रामक रोगको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाका क्रममा रहेको भन्ने सम्बन्धित मन्त्रालयबाट समितिमा जानकारी प्राप्त भएको हुँदा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ११६ बमोजिम राष्ट्रिय सभाको बैठकमा प्रतिवेदन पेश गर्ने निर्णय भएको छ,’ उनले भनिन् । रासस













