
काठमाडौं— नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले सरकारले अरूकै निर्देशनमा नीति तथा कार्यक्रम तयार गरेको आरोप लगाएका छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले अरूकै खटनपटनमा नीति तथा कार्यक्रम तयार गरेर राष्ट्रपतिलाई वाचन गर्न लगाइएको भन्दै अर्को आलोचना गरे । उनले भने, ‘दलाल पुँजीवादको व्यवस्थापनमा र खटनपटनमा नीति तथा कार्यक्रम लेखिएछ । र, सम्माननीय राष्ट्रपतिबाट प्रस्तुत गरिएको छ । यस्तो नहुनुपर्थ्यो, नगरिनुपर्थ्यो ।’
सरकारी पक्षले यसलाई जबर्जस्ती पास गर्न खोजेको आरोप लगाउँदै उनले नीति तथा कार्यक्रम पुनर्लेखन गर्न माग गरे । ‘यसलाई फिर्ता लिनु, पुनर्लेखन गर्नु र फेरि व्यवस्थित गरेर ल्याइयो भने, सत्तापक्षको इज्जत बढनेछ । त्यसलाई सच्याउनुस् हामी भोट हाल्छौँ । तपाईंहरू सङ्ख्याको बलमा जस्ताको त्यस्तै पास गर्न खोज्दै हुनुहुन्छ । त्यसको बहादुरी ठान्दै हुनुहुन्छ । यहाँ उभिएर प्रतिपक्षलाई गाली गर्दै आनन्द लिइरहनु भएको छ ।’













