
काठमाडौं— नेपालले एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सोमबार भएको खेलमा कीर्गिस्तानलाई हराउँदै नेपालले सुखद् सुरुआत गरेको हो । घरेलु समर्थकको साथ पाएको नेपालले कीर्गिस्तानलाई २५–११, २५–१९ र २५–११ ले हराएको हो ।
जितसँगै समूह ‘ए’ को नेपालले ३ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।प्रतियोगिताअन्तर्गत सोमबार नै भारत र उज्वेकिस्तानले जित निकालेका छन् । पहिलो खेलमा उज्वेकिस्तानले श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको हो । उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–१५ र २५–१३ ले हराएको हो ।
भारतले बंगलादेशलाई २५–३, २५–९ र २५–६ को सेटमा हराएको हो । राखेपको विशेष सहयोग तथा नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा ८ टोली सहभागि छन् । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, भारत, श्रीलंका, कीर्गिस्तान, उज्वेकिस्तान र काजाकिस्तान सहभागिता छन् ।
समूह ‘ए’ मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र कीर्गिस्तान छन् । समूह ’बी’ मा श्रीलंका, माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान रहेका छन् । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन् । राष्ट्रिय खेलकुद परिषद् राखेपका संरक्षक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतियोगिताको उद्घाटन गरेका थिए ।













