News Griha :: न्यूजगृह
अर्थमन्त्री महत र एमसीसीका उपाध्यक्ष ब्रुक्स टोलीबीच भेटवार्ता

काठमाडौं— अर्थमन्त्री डा.प्रकाशशरण महतसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को एशिया, यूरोप, प्यासिफिक र ल्याटिन अमेरिकाका कार्यक्रम हेर्ने क्षेत्रीय उपाध्यक्ष जोनाथन ब्रुक्सले नेतृत्व गरेको एक टोलीले भेटवार्ता गरेको छ ।

भेटका क्रममा एमसीसी परियोजनाको कार्यान्वयनबारे छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ । एमसीसी सम्झौता कार्यान्वयनमा जाने मिति (अगस्ट २०२३) नजिकै आएको र यो कार्यान्वयनमा गएको मितिले ५ वर्षभित्र आयोजना सम्पन्न गरिसक्नु पर्ने सन्दर्भमा यसको पूर्वतयारीका अवस्थाको बारेमा जानकारी लिन एमसीसीका पदाधिकारीको भ्रमण भएको हो ।

भेटघाटका क्रममा डेपुटी भाइस प्रेसिडेण्ट जोनाथन ब्रुक्सले जग्गा प्राप्ति, खरिद प्रक्रियाजस्ता पूर्वतयारीका काममा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरे । त्यसैगरी सम्झौता कार्यान्वयनमा जानुपूर्व सम्पन्न भई सक्नुपर्ने बाँकी कार्यबारेमा पनि दुवै पक्षबीच विस्तृत छलफल भएको सचिवालयले जनाएको छ ।

सो अवसरमा अर्थमन्त्री डा.महतले यो आयोजना पूर्वनिर्धारित समयावधिभित्रै सम्पन्न भई नेपालको आयोजना व्यवस्थापनमा उदाहरणीय बन्न सक्ने विश्वास व्यक्त गर्नुका साथै आयोजना चक्रमा आउने महत्त्वपूर्ण विषयहरूलाई कानुनको प्रक्रिया पूरा गरी यथाशीघ्र टुंग्याउने प्रतिबद्धता जनाए ।

मन्त्री डा.महतले एमसीसी आयोजनाको सफलता अन्य आयोजनाका लागि पनि अनुकरणीय हुने विचार व्यक्त गर्दै एमसीसीका पदाधिकारीलाई नेपाल भ्रमण गरी छलफल गरेकोमा धन्यवाद व्यक्त गरे । भेटमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनको पनि सहभागिता थियो ।

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  २१:५६
Weather Update