News Griha :: न्यूजगृह
कोरियाबाट फर्किएर रेग्मीले तनहुँमा गरेको कागती खेतीमा हावाहुरीले पुर्‍यायो क्षति

तनहुँ— हावाहुरीसहितको वर्षाले तनहुँको व्यास नगरपालिका–१३ आशापानीमा कृषकले लगाएको कागती खेतीमा क्षति पुर्‍याएको छ । स्थानीय राजु रेग्मीले व्यावसायिकरूपमा सुरु गरको कागती खेतीमा हावाहुरीले क्षति पुर्‍याएको हो ।

२६ रोपनी क्षेत्रफलमा एक हजार बोट लगाएकामा हावाहुरीले तीन सय बोटमा क्षति पुर्‍याएको उनले बताए । उनको भनाइमा २६ रोपनी क्षेत्रफलमा व्यावसायिकरूपमा कागती खेती गरिएको छ । किसान रेग्मीले भने,‘हावाहुरीले धेरै ठूलो क्षति पुगेको छ, तीन सयभन्दा बढी बोट भाँचिएको छ, बगैँचा ध्वस्त बनाएको छ ।’

कृषिमा केही गर्छु भन्ने सोच राखेर अगाडि बढ्दा प्रकृतिबाट ठगिएको उनले गुनासो गरे । चार वर्ष कोरिया बसेर फर्किएका उनले कागतीलाई नै मुख्य पेसा बनाउने सोचसहित अगाडि बढेका छन् ।

हालसम्म ३५ लाख रुपैयाँ लगानी भएको उनले बताए । अघिल्लो वर्ष पाँच लाख रुपैयाँको कागती बिक्री गरेकामा यस वर्ष २५ लाख रुपैयाँको बिक्री गर्ने लक्ष्य थियो । ‘कागती राम्रो फलिरहेको थियो, यो वर्ष विस्तार पनि गरेको थिएँ, तर हावाहुरीले बोटहरू जरैदेखि भाँचिएको छ,’ उनले भने ।

कृषिप्रधान देश भनिए पनि कृषिमा सम्बन्धित निकायको कम चासो रहने गरेको उनको गुनासो छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा तरकारी बालीमा क्षति पुगेको जानकारी दिए । उनका अनुसार जिल्लाभर क्षतिको विवरण संकलन भइरहेको छ । कृषिमा पुगेको क्षतिको मूल्यांकन गरेर कृषकलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उनले बताए ।

पछिल्लो समय कृषिमा युवाहरूको आकर्षण बढिरहेकाले युवालाई कृषि क्षेत्रमा टिकाइराख्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । व्यास नगरपालिकाले हावाहुरी, असिनापानीका कारण भएको क्षतिको विवरण संकलन गर्न लागेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  ०८:०२
Weather Update