News Griha :: न्यूजगृह
संघले प्रदेश सरकारलाई भिक्षुकको जस्तो व्यवहार गर्‍यो : मुख्यमन्त्री शाह

काठमाडौं— सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहले संघीय सरकारले प्रदेश सरकारलाई भिक्षुकको व्यवहार गरेको आरोप लगाएका छन् । 

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री शाहले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको आरोप लगाएका हुन् । 

उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललिपप मात्रै देखाएको भन्दै गुनासो गरे । 

प्रदेश मातहतमा पर्ने राजस्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालन समेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको उनले बताए । 

प्रदेश सरकारले राजस्व संकलन गरिदिए अनुदान दिन्छौँ भन्दै एकाधिकार जमाएको उनको भनाइ छ । उनले प्राकृति स्रोत प्रदेश मातहतमा आएपनि स्वीकार गर्न नसकेको बताए । प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा प्रमुख जिल्ला अधिकारीहरू केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाटमा लडाइ गर्नुपरेको उनको भनाइ छ । 

मुख्यमन्त्री शाहले केन्द्र सरकारले राजस्व संकलनका क्षेत्रहरूमा बाँडफाटमा एककाधिकार गरेको बताए । उनले सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न नपाएको गुनासो गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:००
Weather Update