News Griha :: न्यूजगृह
नीति तथा कार्यक्रम संघीयता विरोधी : अध्यक्ष राउत
फाइल तस्बिर ।

काठमाडौं— जनमत पार्टी अध्यक्ष तथा सांसद डा. चन्द्रकान्त (सीके) राउतले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम संघीयता विरोधी भएको बताएका छन् । 

मंगलबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अध्यक्ष राउतले सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा जम्मा तीनपटक मात्रै संघीयताको उल्लेख गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । 

‘यस नीति तथा कार्यक्रम ७० पानाको छ, त्यसमा केवल तीनपटक संघीयताको उल्लेख गरिएको छ । संघीयतालाई सबल गर्नेखालको ठोस निति तथा कार्यक्रम देखिएन,’ उनले भने, ‘म आश्चर्यचकित छु कि माओवादी नेतृत्वको सरकारले जुन नीति तथा कार्यक्रम ल्याएको छ, त्यो संघीयता विरोधी देखिएको छ ।’

उनले प्रदेश प्रहरी, कर्मचारी समायोजन लगायतका संघीयता कार्यान्वयनसँग सम्बन्धित विषयलाई ठोस रूपमा सम्बोधन गर्न पहल गर्नुपर्ने बताए । पाँच लाख रोजगारी, प्रत्येक पालिकामा एक–एक वटा शितगृह, कृषि भण्डारण केन्द्र, एक टोल एक सामूहिक कृषि, उत्पादन नीति, सामूहिक खेती प्रणालीको लक्ष्य सरकारले लिनु राम्रो भएको उनको भनाइ छ । 

उनले मधेस प्रदेशलाई विशेष प्रदेश घोषणा गरी ‘विशेष रेस्क्यु प्याकेज’ घोषणा गर्न माग गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १४:१२
Weather Update