एनएससी–काभा महिला भलिबल : नेपाल सेमिफाइनलमा

काठमाडौं— बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप–२०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।
नेपाल भलिबल संघको आयोजनामा पहिलोपटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।
पहिलो खेलमा कीर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथिको जित सँगै ६ अंक बनाएको हो ।
यसै समूहबाट भारतले कीर्गिस्तानमाथि ३–० को सहज जित निकाल्दै सेमिफाइनल यात्रा तय गरेको हो । भारतले कीर्गिस्तानलाई २७–१७, २५–८, २५–८ को जित निकालेको हो ।
समूह विजेता र उपविजेताको छिनोफानो बुधबार हुने नेपाल र भारतबीचको खेलले निर्धारण गर्नेछ । कीर्गिस्तान र बंगलादेशले अब वरीयताका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८० १९:०६













