News Griha :: न्यूजगृह
पूर्वराजा ज्ञानेन्द्रलाई नेताहरूको चेतावनी– राजतन्त्र फर्किँदैन, सक्रिय हुनुको अर्थ छैन

काठमाडौं— पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय भएको भन्दै नेताहरूले विभिन्न टिप्पणी गरेका छन् । सोही क्रममा मंगलबार नेकपा एमालेका सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई चेतावनी दिएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले पूर्वराजा शाहलाई तेस्रोपटक राजा हुने प्रयत्न नगर्न चेतावनी दिएका हुन् । उनले भने,‘ज्ञानेन्द्र दुईपटक राजा हुनुभयो । तेस्रोपटक राजा हुने प्रयत्न नगर्नुस् । किनभने एउटा प्रक्रियाबाट राजतन्त्र बिदा गरिएको हो । राजनीति गर्न मन लाग्छ भने संविधानले त रोकेको छैन । खोल्नुस् पार्टी । चुनाव लडेर आउनुहुन्छ भने भइहाल्यो ।’

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले पूर्वराजा शाहको सक्रियाताबाट तर्सिनु नपर्ने बताएका छन् । दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने उनले बताए । ‘किन तर्सिनु ? तर्सिनै पर्दैन । हामीहरू अहिले पार्टीहरूका बीचमा विवाद गर्‍यौं, बहस गर्‍यौं, झमेला गर्‍यौं भनेर यो व्यवस्था नै फेल भयो भन्न मिल्छ ? हामीले लोकतन्त्र ल्याउने, गणतन्त्र भनेका हौँ । वादविवादको बीचबाट एउटा संवाद निकालेर जान्छौँ भनेको हो ।’

नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रूपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए । उनले भने,‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ । कसैले तर्साउँदैमा लोकतन्त्र त्यति कमजोर छैन । एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दै जाँदा सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन । नेपाली जनताले चाह्यो भने कसैलाई स्थापना गर्न, पुनःस्थापना गर्न र हटाउन सक्छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक उपलब्धिहरूलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहेसम्म केही तत्वहरू सल्बराइरहने टिप्पणी गरे । उनले पूर्वराजाको सक्रियतालाई स्वभाविक लिनुपर्ने बताए ।

‘हाम्रो कमजोरी छ । उपलब्धिहरूलाई संस्थागत गर्न सकिराखेका छैनौँ । त्यो कमजोरी रहेसम्म सल्बराइरहने तत्वहरू रहरहन्छन् । त्यसैले गर्दा यसलाई स्वभाविक रूपमा लिनुपर्छ,’उनले भने ।

 

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १९:५२
Weather Update