News Griha :: न्यूजगृह
कैलालीका किसानलाई मलकै चिन्ता

टीकापुर— कैलालीमा रासायनिक मल अभाव हुने भएको छ । हरेक वर्ष किसानले मलको समस्या झेल्दै आएका र यसवर्ष पनि डीएपी मलको अभाव हुने उनीहरूलाई चिन्ता छ ।

कैलालीमा रासायनिक मलको आपूर्ति पर्याप्त नहुँदा यसवर्ष मल अभाव हुने देखिएको छ । सरकारले अन्तर्राष्ट्रिय बोलपत्रका अतिरिक्त कृषि सामग्री र साल्टट्रेडिङ कम्पनीले जिटुजीअन्तर्गत भारत सरकारका आधिकारिक निकायबाट मल आयात गरी किसानलाई पूर्ति गर्दै आएको छ ।

यसवर्ष पनि समयमा मलको पर्याप्त आपूर्ति नहुँदा धानखेती गर्ने बेलामा डीएपी मल अभाव भएको कृषि सामग्री कम्पनीका प्रमुख नवलसिंह बोगटीले जानकारी दिए । ‘किसानले खेती गर्ने बेला भइसक्यो, धानको बीउ राख्न थालेका छन्’, उनले भने, ‘मल आयात पर्याप्त नभएकाले यस वर्ष खेत रोप्ने समयमा मल अभाव हुने देखिन्छ ।’

कार्यालय प्रमुख बोगटीले भैरहवा नाकामा एक हजार दुई सय मेट्रिक टन डीएपी मल आयात गरिए मात्र सुदूरपश्चिम ल्याइने बताए । ‘पहिलो चरणमा एक हजार दुई सय मेट्रिक टन डीएपी मल सुदूरपश्चिममा वितरण भइसकेको छ’, उनले भने,‘थप मल भैरहवा नाकामा आयात गरिए  वितरण गर्न सकिन्थ्यो ।’

कृषि सामग्री कम्पनी धनगढीसित हाल दुई सय ५० मेट्रिक टन युरिया मौज्दात छ भने पोटास पनि सोही मात्रामा मौज्दात छ । कैलालीमा १८ हजार मेट्रिक टन डीएपी, १५ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन पोटासको माग रहेको छ । माग बढी रहे पनि आधा मात्र आपूर्ति हुने गरेको छ । यही कारणले किसान मलको प्रयोग गर्ने याममा बर्सेनि अभावमा खेती गर्न बाध्य छन् ।

किसान रुपराम चौधरीले किसानलाई आवश्यक भएका बेला हरेक वर्ष मल अभाव हुनुले किसानलाई कृषिकर्मप्रति निरुत्साहित गर्ने गरेको बताए । ‘खेती गर्न चाहिने मल, बीउ र सिँचाइको सुविधा पर्याप्त हुनुपर्ने हो । हामी सधैं अभाव झेलिरहन्छौँ’,उनी भन्छन्,‘अभावका बीचमा खेती गर्न निकै गाह्रो हुन्छ । समयमा मल नपाउँदा मल खोज्न भौतारिनुपर्छ ।’ अर्का किसान रमेश रेग्मी स्थानीय सरकारले मलको सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने बताउँछन् ।

प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  ०९:४६
Weather Update