
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आर्थिक क्रियाकलापमा सबैभन्दा बढी असर पारेको नाकाबन्दी भन्ने शब्द सरकारले छुटाएको भन्दै आलोचना गरेका छन् ।
बुधबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि भाग लिँदै सांसद लामिछानेले नाकाबन्दी बिर्सिने विषय नभएको बताए ।
उनले भने, ‘हाम्रो आर्थिक क्रियाकलापमा बढी असर गरेको नाकाबन्दी भन्न सरकारले छुटाएछ । छुटाए छ कि डराएछ म अहिले भन्न सक्दिन । नाकाबन्दी बिर्सिने विषय हैन ।’
उनले अर्थतन्त्रको बारेमा राजनीतिक र प्रशासनिक नेतृत्व गम्भीर नभएको पनि बताए । ‘अर्थतन्त्र अन्योलको स्थितिमा छ । तैपनि यसलाई राजनीतिक र प्रशासनिक नेतृत्वले गम्भीरताका साथ दिइएको देखिँदैन,’ उनले भने, ‘अरूलाई मितव्ययी बन्न सुझाव दिने सरकार आफैँले फजुल खर्जमा प्रोत्साहन गरिरहेको छ ।’
राज्यले लिने आर्थिक र कर नीतिहरू अत्यन्तै विवादास्पद भेदभावपूर्ण भएको उनको भनाइ छ । करको दरमा गरिएको परिवर्तन अर्थतन्त्रको समग्र हितको लागि नभइ निश्चित क्षेत्र र व्यवसायीलाई लाभ पु¥याउने काम भएको उनले आरोप लगाए ।













