
काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नसके भ्रष्टाचार न्यूनीकरण हुने धारणा राखेका छन् ।
बुधवार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले शिक्षा र स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सकेमा भ्रष्टाचारमा कमी आउने धारणा राखेका हुन् ।
भ्रष्टाचार नियन्त्रणका लागि केवल अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मात्रै बलियो बनाएर नहुने उनको भनाइ छ । यसका लागि लोकसेवा आयोगको भूमिका बढाउनेदेखि स्वार्थको द्वन्द्वको कानुन, संवैधानिक निकायको नियुक्तिलगायतको विषयलाई पनि एक ठाउँ जोडेर राख्नुपर्ने उनले बताए ।
यस्तै, महामन्त्री थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकार र न्यायालयको परीक्षा हुने बताए । न्यायालयले यस विषयमा न्याय गरेँ भनेर मात्रै नपुग्ने भन्दै उनले न्यायको अनुभूति पनि हुनुपर्ने बताए । यस प्रकरणका दोषी कोही पनि छुट्न नहुने उनको भनाइ छ ।













