
काठमाडौं— नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विधिको शासन सबै तहको मानिसमा लागु हुनुपर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधि सभा बैठकमा धारणा राख्दै सांसद सिंहले विधिको शासन लागु हुनुपर्छ भन्नेले ‘मैले ल्याएको कानुन मलाई नै लागु भयो’ भन्ने सोच गलत भएको बताए । उनले हरेक कुरामा विधिको शासन हुनुपर्छ भन्दै कसैलाई पाखा कसैलाई काखा लगाउन नहुने धारणा व्यक्त गरे ।
‘विधिको शासन लागु हुनुपर्छ भन्नेले मैले ल्याएको कानुन मलाई लागु हुँदैन भन्ने होईन नि, भ्रष्टाचार भएपनि हरेकको कुरामा विधिको शासन हुनुपर्छ । कसैलाई पाखा कसैलाई काखा लगाउन हुँदैन । यो सबैलाई बराबर विधिको शासन हुनैपर्छ,’ उनले भने, ‘अहिलेको यो नक्कली भुटानी शरणार्थीको बारेमा जुन आइरहेको छ, विधिको शासन सबैले पालना गर्नुपर्ने भन्ने विषयमा जोड दिनुपर्छ । नीति कार्यक्रममा पनि राखेको छ । तीन तहको सरकारलाई पूरा अधिकार दिने कुरा पनि संसद्बाट पारित गर्नुपर्ने जोड दिन चाहन्छु ।’
उनले जनताको विश्वास जित्नको लागि सीमित स्रोतको प्रयोग गरेर जनतालाई सबैभन्दा प्रभाव पारिरहेका मुद्दाहरूमाथि केन्द्रित भएर बजेट निमार्ण गर्नुपर्ने बताए ।













