
काठमाडौं— नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले व्यवहारिक प्रयोगको शिक्षाको विषयमा नेपाली पाठ्यक्रम अति कमजोर भएको बताएका छन् ।
गत ३ पुसमा खाना पकाउने ग्यास लिक हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारी उपचारपछि पहिलोपटक प्रतिनिधि सभा बैठकमा उपस्थित भएका हुन् ।
उनले विज्ञानले गरेको विकासको प्रयोगको बारेमा हरेकलाई जानकारी गराउन आवश्यक भएको बताए ।
आफूले भोगेको पीडा र उपचारपछि अवस्थाको अनुभव सुनाउँदै उनले भने, ‘अहिले जलन केस देशभरि फैलिएको छ, हामीले जसरी विज्ञानको विकास गर्यौँ । गाउँ गाउँमा ग्यास पुग्यो, गाउँ गाउँमा बिजुली पुग्यो तर, हामीले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने कुरा पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । विश्वमा बच्चाहरू रोड क्रस गर्दा कसरी गर्ने वा ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने भन्ने बारेमा आफ्नो देशको पाठ्यपुस्तकमा पढ्न पाउँछन् । तर, हाम्रो विज्ञहरू, आर्थिक ज्ञाताहरू र नीति निर्माताहरू कसैलाई पनि यो कुरामा ध्यान गएन ।’













