
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारको नीति तथा कार्यक्रममा देशमा गरिखाने वातवारण नदेखिएको स्पष्ट हुने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै सभापति लामिछानेले सरकारको नीति तथा कार्यक्रममा लगानी भित्र्याउने नीति नभएको बताएका हुन् ।
उनले सरकारले अनुदान लिने भन्दा पनि लगानी भित्र्याउने नीति लिनुपर्नेमा जोड दिए । लगानीले रोजगारीको अवसर सिर्जना गर्ने र अर्थतन्त्रलाई चलायमान बनाउने उनको भनाइ छ ।
उनले स्थानीय तहहरूलाई जवाफदेही बनाउने ठोस कार्यक्रम पनि सरकारले ल्याउन नसकेको बताए । उनले स्वदेशी र विदेशी लगानी प्रवद्र्धन गरी उद्यमशीलतालाई बढावा दिने कुरामा ठोस कार्यक्रम नभएको पनि टिप्पणी गरे ।
उनले व्यापारी, व्यवसायीलाई नेताले संरक्षण गर्ने नभइ नीतिले संरक्षण गर्नुपर्ने अवस्था बनाउनुपर्ने बताए । सरकारको नीति तथा कार्यक्रम ज्येष्ठ, नागरिक अशक्त तथा अपांगता भएका व्यक्तिहरूको पक्षमा नभएको समेत उनको भनाइ छ ।













