News Griha :: न्यूजगृह
७३ मेगावाटको आयोजना बनाइरहेको सानिमा मिडिल तमोरको आईपीओ खुल्यो

काठमाडौं— सर्वसाधारणका लागि सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक सेयर (आईपीओ) खुलेको छ । कम्पनीले प्रतिसेयर अंकित मूल्य १ सयका दरले ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर निस्कासन गरेको छ । निष्कासित सेयरमा लगानीकर्ताले फागुन ३० गतेसम्म आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्ने बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ । आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा भाैतिक फारम भरेर वा अनलाइन प्रणाली ‘मेरो सेयर’मार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीले ताप्लेजुङको फत्तङलुङ र मिक्वाखोला गाउँपालिका तथा फुङ्लिङको सिमाना भएर बग्ने तमोर नदीको बहाव सदुपयोग गरी ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ब्याजसहित आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड अनुमान गरिएको छ । जुन प्रतिमेगावाट अनुमानित लागत १८ अर्ब २६ करोड बढी हुन्छ । आयोजनाको व्यवसायिक उत्पादन सुरु गर्ने लक्ष्य २०८० भदाै २६ गते अनुमान छ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १४:०७
Weather Update