News Griha :: न्यूजगृह
विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा

विराटनगर— जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ।

कोशी नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिँदै विराटनगरका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको हो।

प्रदेशको नामकरण पश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकाले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरेको हो ।

प्रदेश सभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवाचोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेधित क्षेत्र तोकिएको छ। 

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावत बाहेक सभा, जुलुस, भेला, र्‍याली, धर्ना जस्ता कार्यक्रममा प्रतिबन्ध लगाइएको छ।

गत १७ फागुनमा प्रदेश सभा बैठकले कोशी नामकरण गरेको थियो। त्यसयता प्रदेश राजधानी विराटनगरमा प्रदर्शन भइरहेको छ। कोशी नामकरणमा असहमति जनाउने विभिन्न समूह तथा पक्षले धर्ना, जुलुस प्रदर्शन गर्दै आएका छन्। 

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  ०६:२३
Weather Update