News Griha :: न्यूजगृह
बचतफिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन

काठमाडौं— सहकारी पीडित बचतकर्ता महासंघ संघर्ष समितिले बचत फिर्ताको माग राख्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ । 

सहकारीबाट ठगिएका पीडितहरू एक हुँदै सहकारीमा राखेको बचत सरकारले फिर्ता गरिदिनुपर्ने माग राख्दै शनिबार काठमाडौंको माईतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । 

सहकारी बचतकर्ता पीडितहरूले सहकारीहरूले खाएर भागेको बचत फिर्ताको लागि स्थानीय तहदेखि केन्द्र सरकारका निकायका ढोकामा पुग्दा समेत बचत फिर्ता नभएको भन्दै धर्ना तथा प्रदर्शनमा उत्रिएको बताए । 

sahakari-pidit--1685790821.jpg

संघर्ष समिति अध्यक्ष सुनितासिंह राजभण्डारीले सहकारीको बचत फिर्ताको लागि राज्यका सबै निकायहरू धाउँदा कतै पनि सुनुवाइ नहुँदा संयुक्त रूपमा पीडितहरू सडक आन्दोलनमा आएको बताइन् । 

सहकारीहरूलाई नियन्त्रण गर्ने एउटा मात्रै निकाय बनाउनुपर्ने र सहकारीहरूले बनाउने निजी ऐन बन्द गर्नुपर्ने सरकारसँग सहकारी पीडितहरूको माग रहेको उनले बताइन् । 

सहकारीमा बचत गरेको लाखौँ रुपैयाँ सहकारीले खाएर भागेपछि पीडितले न्याय सडक आन्दोलनमार्फत माग्न बाध्य भएको उनको भनाइ छ ।  

sunitasingh-1685790822.jpg

उनले काठमाडौं महानगरपालिका, वडा कार्यालय र प्रदेश सरकारसम्म न्याय माग्न जाँदा सुनुवाइ कतैबाट पनि नभएको गुनासो गरिन् । अहिले १०० भन्दा बढी सहकारीमार्फत ठगिएका बचतकर्ताहरू एक ठाउँमा रहेको उनले जानकारी दिइन् । बाटोमा दिनभर मकै पोल्ने, भारी बोकेर सहकारीमा जम्मा गरेको पैसा फिर्ता नदिएको भन्दै कुनै कालोधन जम्मा नगरेको उनको भनाइ छ ।

पीडितहरूले सडकमा रगत पसिनाले कमाएको पैसा फिर्ता गर, बचतकर्ता रकम अविलम्ब फिर्ता गर, आम नागरिकको बचत फिर्ता गर, सहकारी सञ्चालकको सम्पत्ति तत्काल रोका गर, सहकारीहरूलाई राष्ट्र बैंकको निगरानीमा राख्ने व्यवस्था गर, सम्पूर्ण ठग सहकारीहरूलाई कारबाही गर, सरकार हामीलाई न्याय दे, फरार सहकारी सञ्चालनको तत्काल खोजी गर, हिजोको दिनमा यहाँ छौँ, त्यहाँ छौँ भन्ने नेताहरू आज कहाँ छन् ? सहकारीको पाराले दुःख पाए बचतकर्ताले भन्ने प्लोकार्डसहित नारा लगाइ प्रदर्शनमा गरेका थिए । 

प्रकाशित मिति: शनिबार, जेठ २०, २०८०  १६:५९
Weather Update