
काठमाडौं— नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले बैंकको ब्याजदर एकल अंकमा नल्याए अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका छन् ।
बिहीबार नेपाल—इटली उद्योग वाणिज्य संघको कार्यक्रममा बोल्दै अध्यक्ष मल्लले सरकारले बैंकको ब्याजदर तत्काल एकल अंकमा नल्याए मुलुकको अर्थतन्त्र थप धरासायी हुनसक्ने बताएका हुन् ।
उनले बैंकको ब्याजदर कम नभए उद्योग व्यवसाय पनि फस्टाउन नसक्ने बताए । अध्यक्ष मल्लले मुलुकको अर्थतन्त्र थप अफ्ठ्यारोमा पर्न नदिनको लागि सरकारले फास्ट ट्रयाकमा ब्याजदर कम गर्नपर्ने बताए ।
‘हाम्रो आर्थिक ऐन र नीतिगत सुधार नहुँदा आज उधारो कारोबारले गर्दा थुप्रै उद्योगी व्यवसायीको थाप्लोमा ऋण छ । बजारमा जाँदा पैसा आउँदैन । त्यो कारणले बैंकलाई पनि संकट, उद्योगी व्यवसायीलाई पनि संकट, यस किसिमको संकट निस्तेज पार्नको लागि डिजिटलाइजेशन र नगद कारोबारमा जानुपर्छ । आउने आर्थिक ऐनमा, आउने बजेटमा हामीले ल्याउनैपर्छ । यो नगदमा कारोबार हुनासाथ कुनैपनि व्यवसायीहरुलाई २ प्रतिशत नाफा महिनामा भयो भने पनि वर्षमा २४ प्रतिशत हुन्छ । बैंकमा गएर तरलताको लागि टाउको दुखाउनु पनि पर्दैन । चालु कर्जा पुँजी दिएन भनेर पनि कराउनु परेन । नयाँ भिजनमा, नीतिमा मुलुकलाई लैजानुपर्छ । ब्याजदरमा जुन किसिमको वृद्धि भएको छ, धेरै नै कठिन हुन्छ, यो ब्याजदरलाई छिटो भन्दा छिटो केही घटाइएन भने एकल अंकमा झार्न सकेन भने उद्योग व्यवसाय फस्टाउनेवाला छैन । मुलुक अफ्ठ्यारो अवस्थामा पुग्नसक्छ,’ उनले भने ।
उनले नेपालमा इटालीको आवासीय राजदूतावास बन्न नसक्दा दुई देशबीचको व्यापार बिस्तार हुन नसकेको बताए । उनले सरकारले दुई देशबीच व्यापार बढाउनको लागि इटालीको आवासीय राजदूतावास नेपालमा खोल्न पहल गर्नुपर्ने बताए ।













