
काठमाडौं— नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले आलु, प्याज र नेपालमा उत्पादित फलफूमाथि लगाएको भ्याट गम्भीर भएको बताएका छन् ।
शनिबार नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमिति सम्मेलनमा कोइरालाले सरकारमा बसेर आफ्नै विरोध गर्न नहुने वास्तविकताले बोल्न नपाएको उल्लेख गर्दै पार्टी सभापतिलाई भ्याटको विषयमा धारणा बनाउन आग्रह गरे ।
उनले भने, ‘सत्तापक्षको भएको हुँदा संसद्मा बोल्न अप्ठ्यारो लाग्छ । विरोध कसरी गर्ने ? संसदीय व्यवस्थाको मापदण्डहरूलाई पक्रेर हिँड्नुपर्ने हुन्छ, त्यो ल्याइसक्यो सत्तापक्षले विरोध गरेर फाइदा छैन, सत्तापक्ष भएपछि त्यही गाह्रो हुन्छ ।’
उनले सभापति देउवाले यो विषयमा बुझ्नुपर्ने बताउँदै थपे, ‘पार्टी सभापति यही हुनुहुन्छ, त्यसैले पनि बोल्नुपर्छ, नेपालमा आलु, प्याज र फलफूल जस्तो कुरामा भ्याट लगाउँदा हामीहरूले यसलाई कसरी लिने ? अत्यन्त गम्भीर कुरा छ यो ।’













