
काठमाडौं— अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्ने दाबी गरेका छन् ।
आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले सरकारले आगामी आर्थिक वर्षमा लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्नसक्ने आधारहरू रहेको बताए ।
सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्नेगरी आर्थिक वर्षको पहिलो दिनेदेखि काम थालनी गर्ने उनको भनाइ छ । उनले सरकारले राखेको ६ प्रतिशतको आर्थिक वृद्धि र राजस्वको लक्ष्य पूरा गर्नसक्ने गरी कामहरू गर्न सुरु गरेको बताए । अर्थमन्त्रालयले मात्रै गरेर पूरा नहुने भन्दै राज्य संयन्त्रको सहयोगको अपेक्षा रहेको उल्लेख गरे ।
‘यो काम अर्थमन्त्रालयले मात्रै गरेर पूरा हुने होइन । समग्र राज्य संयन्त्र एकाकार भएर काम गर्नुपर्छ । अब डे वान देखि सरकारले काम गर्न थाल्छ । सबैको सहयोगले ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सकिन्छ,’ उनले भने ।













