
काठमाडौं— जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउतले सांसदहरूको मागअनुसार बजेट संशोधन नभए बजेट पास हुन नदिने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधि सभाअन्तरर्गतको पूर्वाधार विकास समितिको बैठकमा अध्यक्ष डा. राउतले सांसदका मागहरू सम्बोधन हुनेगरी बजेट संशोधन नभए सत्तापक्षका सांसदहरूले नै बजेट पास हुन दिन नहुने बताएका हुन् ।
उनले पूर्वाधार विकास समितिले सुझावसहित बजेट संशोधनको प्रस्ताव लैजान माग गरे । सुझावसहित बजेट संशोधनको प्रस्ताव कार्यान्वय नभए पनि सरकारले ल्याएको बजेट संशोधनको आवश्यकता रहेको उनको भनाइ छ । उनले एक जना मन्त्रीले मात्रै बजेट बनाउने भए २७५ सांसदहरू आवश्यक नभएको भन्दै निर्वाचित भएर आएका सांसदहरूको कुरा सरकारले सुन्नुपर्ने जिकिर गरे ।
उनले सरकारले सांसदहरूका कुरा नसुने बजेटलाई पारित हुन नदिने अधिकार सांसदहरूलाई रहेको भन्दै सत्तापक्ष र प्रतिपक्षका संसदहरूले आफ्नो अधिकार उपयोग गर्न आग्रह गरे । उनले मधेस प्रदेशभन्दा सूदुरश्चिममा ६ गुणा बढी बजेट गएको विनियोजन भएको भन्दै जनसंख्या वा मानव विकास सूचकाङ्कको आधारमा बजेट निर्धारण गर्नेगरी संशोधन हुनुपर्ने बताए ।













