News Griha :: न्यूजगृह
पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता निष्कर्षविहीन 

विराटनगर— कोशी प्रदेश सरकार र नामकरण खारेजीको माग राख्दै आएका आन्दोलनरत पक्षबीच भएको पहिलो वार्ता कुनै टुंगोमा पुग्न सकेन । 

सोमबार प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा करिब ५ घण्टा छलफल भए पनि निष्कर्षविहीन बनेको छ । प्रदेश सरकारका तर्फबाट वार्ता समितिको संयोजक रहेका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोले वार्ता सौहाद्र्धपूर्वक सम्पन्न भएको र पुनःवार्ता गर्ने सहमति बनेको जानकारी दिए । 

आपसी छलफल गरेर पुनः वार्ताका लागि मिति तोक्ने सहमति भएको उनको भनाइ छ । उनले आन्दोलनरत पक्षका एजेन्डाहरू वार्ताको विषयमा प्रवेश भएको र आगामी छलफलबाट सहमति खोज्ने प्रयास गर्ने समेत बताए । 

वार्तामा पहिचान पक्षधरबाट गोबिन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राईलगायत सहभागी थिए । 

प्रदेश सरकारको तर्फबाट सिँचाइ, खानेपानी तथा स्वास्थ्यमन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी तथा पूर्वाधारमन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी उपस्थित थिए । 

गत फागुन १७ गते प्रदेश सभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि पहिचान पक्षधरहरु निरन्तर आन्दोलनमा छ्न । आन्दोलनका क्रममा पहिचान पक्षधर प्रदर्शनकारी पदम लिम्बू लागेहाङको गत चैत ५ गते विराटनगरमा भएको झडपमा मृत्यु भएको थियो । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १६:०७
Weather Update