News Griha :: न्यूजगृह
भारतबाट गुणस्तरहीन मह आयात हुँदा नेपाली मह बिक्रीमा समस्यामा

भरतपुर— स्वदेशमा उत्पादन भएको महको बजारीकरणको व्यवस्था गर्न माग गरिएको छ । चितवनको भरतपुरमा ‘१७औँ राष्ट्रिय मह दिवस’ अवसरमा आयोजित अन्तर्क्रिया सरोकारवालाहरूले सो माग गरेका हुन् ।

कार्यक्रममा मौरी विकास कार्यक्रम भण्डाराका वरिष्ठ बाली संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले गत माघदेखि महको बिक्री हुन नसकेको बताए ।

उनले बिक्री नभएर नेपालमा अझै एक हजार पाँच सय मेट्रिक टन मह मौज्दात रहेको बताए । सोही अनुपातमा भारतबाट गुणस्तरहीन मह आयात भएको उनले जानकारी दिए । भारतबाट गुणस्तरहीन मह सस्तोमा आयात हुँदा नेपाली मह बिक्रीमा समस्या आएको उनको भनाइ छ ।

नेपाल मौरीपालन महासंघका निवर्तमान अध्यक्ष शिवप्रसाद पौडेलले स्वदेशी महले बजार नपाउँदा किसान समस्यामा परेको बताए । उनले सरकारले नीतिगत पहल नगर्दा नेपाली किसानको मह उत्पादन हुन नसकेको गुनासो गरे । उनको भनाइमा पछिल्लो चार महिनामा दुई सय मेट्रिक टन मह आयात भएको छ ।

मौरीविज्ञ डा.शिवप्रसाद रिजालले मौरी र महको विषयमा जनचेतना जगाउन आवश्यक रहेको बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले महको बजारीकरणका विषयमा स्थानीय तहलाई अधिकार दिएकाले जनप्रतिनिधि सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।

मह दिवसका अवसरमा नेपाल मौरीपालक महासङ्घ चितवनले जिल्ला प्रहरी कार्यालय अगाडि सर्वसाधरणलाई महसमेत खुवाएको थियो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले किसानको समस्यालाई समाधान गर्नका लागि पहल गर्ने बताए ।

प्रकाशित मिति: मंगलबार, चैत १४, २०७९  ०९:०५
Weather Update