
काठमाडौं— समाजवादी मोर्चाले आगामी नीति र आचारसंहिता बनाउन चार सदस्यीय कार्यदल गठन गरेको छ ।
एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा शनिबार बसेको बैठकले नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ र नेकपा नेता खड्गबहादुर विश्वकर्मा सदस्य रहेको कार्यदल गठन गरेको मोर्चाका नेता राजेन्द्र पाण्डेले जानकारी दिए ।
‘आज चार जनाको कार्यदल बनेको छ,’ उनले भने ‘सामान्यतया मोर्चाको अध्यक्षता ६/६ महिनामा गर्ने भन्ने समझदारी छ ।’
असार २७ गतेसम्ममा कार्यदलले अध्यक्षताको मोडालिटी, मोर्चाको आगामी नीति तथा कार्यक्रम र आचारसंहिता बनाउने छ । उनले मोर्चाको अर्काे बैठकले अध्यक्षताका सन्दर्भमा मोडालिटी नबनाउँदासम्म नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालले बैठकको अध्यक्षता गर्ने पाण्डेले बताए ।
मोर्चा गठन पछि पहिलो पटक बसेको बैठकले सातै प्रदेशमा कार्यक्रम गर्ने भएको छ । कार्यक्रम कहिले हुने भन्ने निर्णय भने असार २७ गते घोषणा हुने पाण्डेले जानकारी दिए ।













