
काठमाडौं— सरकारले मिटर ब्याज पीडितका समस्या तत्काल सम्बोधन गर्न नसकिने बताएको छ । धेरै कानुनहरू संशोधन गर्नुपर्ने भएकाले तत्काल समस्या समाधान गर्न नसकिने सरकारले स्पष्ट पारेको हो ।
मंगलबार मिटर ब्याज पीडितहरूसँग समस्या समाधानका लागि पहल गर्न सरकारको तर्फबाट प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयको टोलीले मिटरब्याजी पीडितहरूको समस्या वर्तमान कानुनले सम्बोधन नहुने र ऐनका लागि मन्त्रालयले पहल गरिरहेको बताएको हो ।
मिटरब्याजी पीडितहरूसँग वार्ताका लागि सरकारको तर्फबाट प्रदर्शन स्थलमा पुगेका गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख घनश्याम अधिकारी लगायतको टोलीले समस्या समाधानका लागि सरकारबाट पहल भइरहेको पनि बताए ।
प्रदर्शन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्रालयका सहसचिव शर्माले पीडितहरूले छलफलका क्रममा प्रधानमन्त्रीसँग भेट्ने र केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सक्रियता कम रहेको गुनासो गरेको बताए । प्रवक्ता शर्माले पीडितका माग सम्बोधनका लागि आफूले समन्वय गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
मिटर ब्याज पीडितको समस्या लामो समयदेखिको भएकाले पीडितहरूले भने जसरी क्षणभरमै समाधान हुन नसक्ने समेत उनले स्पष्ट पारे । 'गृह मन्त्रालयले गफ लगाएको छैन । असोज १ गते ५ बुँदाको सम्झौता भएको छ । आजको भोलि समस्याको समाधान हुँदैन । हामीले के गरेका छौँ भन्ने सम्बन्धमा म छलफल गर्न तयार छु', मन्त्रालयका प्रवक्ता शर्माले भने, 'उहाँहरूसँगको कुराकानीमा केही जिल्लाहरूको प्रमुख जिल्ला अधिकारीको सक्रियता कम छ भन्ने गुनासो सुनेको छु, त्यो विषयमा कुराकानी गर्नेछौँ ।'
उनले केही कानुनहरू बनाउनुपर्ने आवश्यकता देखिएको समेत बताए । वर्तमान कानुनले यो समस्या समाधान नहुने भन्दै उनले कानुन पनि प्रतिवेदनका आधारमा निर्माण हुने स्पष्ट पारे । सदियौंदेखिको समस्या एक दिनमै समाधान हुन नसक्ने बताए । 'अहिले केही कुराहरूका लागि कानुन बनाउनुपर्ने देखियो । वर्तमान कानुनले यो समस्या समाधान हुँदैन । कानुन पनि प्रतिवेदनको आधारमा हुन्छ । हामीले कानुन, न्याय तथा संसदीय मन्त्रालयमा पठाएका छौँ', उनले भने 'सदियौँदेखिको समस्या एक दिनमै चैट् हुँदैन । कानुन बनाउन समय लाग्छ । कानुन बनाउने विषय अघि बढिरहेको छ । धेरै दिन बस्नुपर्दैन । उहाँहरूका समस्या छिट्टै समाधान हुन्छन् । प्रधानमन्त्रीसँग भेट्ने कुरा गर्नुभएको छ उहाँहरूलाई भेटाउन म प्रधानमन्त्रीसँग कुरा गर्नेछु ।'
मिटर ब्याज पीडितहरू ११ दिन पैदल हिँडेर सोमवार काठमाडौं आइपुगेका हुन् । उनीहरूले सोमबार खुलामञ्च अगाडि विरोध प्रदर्शन गरेका थिए । पीडितहरूले आज बिहानैबाट पुनः विरोध सुरु गरेका हुन् । उनीहरूले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, पीडितलाई न्याय दिनुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गर्दै प्लेकार्ड र ब्यानरसहित विरोध प्रदर्शन गर्दै आएका छन् ।













