
काठमाडौं— मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले चार सदस्यीय वार्ता टोली गठन गरेको छ ।
महोत्तरीबाट ११ दिने कष्टकर पैदल यात्रा गरेर आफ्ना माग पुरा गराउन सोमबार काठमाडौं आइपुगेका मिटरब्याज पीडितसँग छलफल गर्न सरकारले मंगलबार वार्ता टोली घोषणा गरेको हो ।
सरकारले गृह, कानुन र प्रधानमन्त्री कार्यालयका सहसचिव एवं उपसचिव सम्मिलित चार सदस्यीय वार्ता टोली गठन गरेको हो । मिटरब्याज पीडितले लामो समयदेखि सरकारसँग आफूहरूको थातबास उठाइदिने मिटरब्याजी साहूमाथि कारबाही गर्न माग गर्दै आएका छन् । तर आफ्नो मागको सुनुवाइ नभएपछि उनीहरू सिंहदरबारमै उभिएर सरकारलाई खबरदारी गरिरहेका छन् ।
सोमबार काठमाडौंको खुलामञ्च पस्न महानगरपालिकाले अवरोध गरेपछि मिटरब्याज पीडितहरू आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न जाँदै थिए । तर, बालुवाटार जाने क्रममा नक्सालमा गृह मन्त्रालयका पदाधिकारी पुगेर उनीहरूका माग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष लगिदिने र प्रधानमन्त्रीसँग भेटाइदिने वचन दिएपछि त्यहाँबाट फर्किएका छन् ।
मिटरब्याज पीडितहरूले अहिले भद्रकाली हुँदै माइतीघर मण्डलामा धर्नामा बस्ने तयारी गरिरहेका छन् ।सरकारले गृह मन्त्रालयका सह-सचिव रुद्रादेवी शर्मा, उप-सचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उप-सचिव उमाकान्त अधिकारी र कानुन मन्त्रालयका उप-सचिव जंगबहादुर दंगासहितको वार्ता टोली गठन गरेको हो ।
सरकारी वार्ता टोलीले मिटरब्याज पीडितसँग प्रत्यक्ष भेटेर छलफल गर्ने र त्यसको निष्कर्ष प्रधानमन्त्रीलाई सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडित संघर्ष समितिका प्रतिनिधिसँग सिंहदरबारमै भेटेर माग सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।
यसअघि सोमबार बेलुकी नै मिटरब्याज पीडितको माग सम्बोधन गर्ने गरी प्रचण्डले खटाएका सरकारी अधिकारी र सचिवालयका सदस्यले वीर अस्पताल पुगेरै समस्या समाधानका लागि प्रधानमन्त्री तयार रहेको आश्वासन दिएका थिए ।













